प्रचण्डको कोटा जम्मा दुई पेग
काठमाडौं।
'ड्रिंक्स लिनुहुुन्छ?'
“अँ, कहिलेकाहीं लिन्छु।”
'कति लिनुहुन्छ?'
“दुई पेग।”
यों संवाद माओवादी अध्यक्ष प्रचण्डसितको हो। लामो भूमिगत जीवनबाट शान्तिपूर्ण राजनीतिमा आएका माओवादी अध्यक्षको यतिबेला शारीरिक तौल पाँच/सात किलो बढेको छ। हि्वस्की र मासुले मान्छेको तौल बढाउने बताइए पनि प्रचण्डको तौल बढ्नुमा 'दुई पेग'ले मात्रै भूमिका खेलेको नभई नियमित जीवनशैली पनि एउटा महत्त्वपूर्ण कारक हुन सक्दछ। काठमाडौं बस्न थालेपछि प्रचण्डमा केही तनावसमेत बढेको छ। जनयुद्धकालमा पनि सधैं सामान्य रहेको उनको रक्तचाप हाल दश प्वाइन्ट जति बढ्नु यसको प्रमाण हो। काठमाडौं आएबाट नै उनको 'प्रेसर हाई' हुन थालेको हो। टेन्सन हुनासाथ एक ठाउँमा नबस्ने र बाहिरफेर घुम्न निस्किइहाल्ने सक्रिय स्वभावका प्रचण्ड यो एक वर्षबीचमा तातोपानी र पोखराको घान्दु्रक मात्रै पुगेनन्, देशका अन्य धेरै भागमा डुल्न भ्याए। बिहान पाँच बजे उठेर कहिलेकाहीं शारीरिक अभ्यास गर्ने प्रचण्ड अचेल भने दिनहुँ नबिराई एक्सरसाइज गर्नतिर लागेका छन्। डाक्टरले घाँटीको नशा च्यापिएको बताएपछि सल्लाहअनुसार नै उनले नियमित शारीरिक अभ्यास गर्न थालेका हुन्। मुटुको स्थिति भने डाक्टरले ठीक रहेको बताएपछि उनी त्यसमा ढुक्क छन्। भोलिपल्ट कार्यक्रमहरुको चाप धेरै छ भने ९/१० बजेकै बीचमा सुतिहाल्ने प्रचण्ड अरूबेला राति १०/११ बजेसम्म बस्दछन्। भूमिगतकालमा भारतमा हुँदा हिन्दी सिनेमा हेर्ने गरे पनि अचेल हिन्दी च्यानल हेर्न उनले भ्याएका छैनन्। नेपाली टेलिभिजनका च्यानलहरुमा आउने जीरे खोर्सानी, तीतो सत्य, मेरी बास्सैजस्ता कार्यक्रमहरु भने प्रायः उनलाई छुटाउन मन लाग्दैन। त्यस्ता कार्यक्रमले आफूलाई अलिकति रिल्याक्स गराउने उनको धारणा छ। ती कार्यक्रमबाहेक उनले हेर्ने भनेको प्रायः समाचार नै हो। काठमाडौंको नयाँबजारमा सिङ्गो घर भाडामा लिएर बनाइएको प्रचण्डको निवासस्थान वरपर तैनाथ जनसेनाहरु हेर्दा त्यो घर सेनाका कुनै बहालवाला जर्नेल वा प्रहरीका हाकिमहरुको जस्तै प्रतीत हुन्छ। हुन पनि माओवादी अध्यक्ष प्रचण्ड आफैं जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर पनि हुन्। उनको निवासमा सुरक्षा दिने र लिनेगरी करिब ६०/७० जना छन्। सबैको खाना सामुहिक हुन्छ। घरभाडाबाहेकको मासिक खर्च ५०–६० हजारभन्दा माथि छ। हेडक्वार्टर (प्रचण्ड) बस्ने आवासको भाडा राज्यले तिरिदिने भने पनि अहिलेसम्म पार्टीले नै तिरिरहेको छ। तर, आजभोलि नै राजनीतिक सहमति भइहालेमा सरकारले भाडा तिर्छ होला भन्ने विश्वासमा छन् प्रचण्ड। बाहिरबाट हेर्दा र सुन्दा जतिसुकै कडाजस्तो लागे पनि प्रचण्डमा खुलापन र उदारता रामै्र पाइन्छ। शान्तिपूर्ण राजनीतिमा आएपछि आफू 'ओभर एक्सपोज' भएको कुरा बताउन उनी कुनै अप्ठ्यारो मान्दैनन्। जनतामा आफ्नो आकर्षण, प्रभाव वा क्रेज कत्ति पनि घटेको छैन भन्ने प्रचण्डको निश्कर्ष छ– 'मिडियामा चाहिँ मेरो आकर्षण घटेको छ।' यसमा प्रचण्डको ठम्याइ छ– 'म ओभर एक्सपोज भएँ, मैले त्यति ओभर एक्सपोज हुन हुने थिएन, यसले गर्दा मिडियामा मेरो तौल घट्यो। यसमा अरू कोही दोषी नभएर म नै जिम्मेवार हुँ भन्ने लाग्दछ।' प्रचण्डमा सरलता पनि उत्तिकै छ, पत्रकारसितै उनी सहज रूपमा भन्छन्– 'अहिले पनि म ठूलो नेता हुँ जस्तो लाग्दैन। मैले आफ्नो स्ट्याण्डर्ड मेन्टेन गर्नुपर्छ भन्ने पनि लाग्दैन।' आफू कसैले भनेको पनि हार्न नसक्ने र 'हुन्छ' भनिहाल्ने खालको मान्छे भएकोमा यसलाई उनले आफ्नो कमजोरी ठान्ने गरेका छन्। संसदीय राजनीतिप्रतिको अनुभव पनि प्रचण्डको बडो विचित्रको छ। प्रचण्डले भन्ने गरेका छन्– 'मसित पार्लियामेन्ट्री राजनीतिको अनुभव पनि कम भयो। यहाँ बढी हिसाब गरेर बोल्नुपर्ने, बढी डिप्लोम्याटिक हुनुपर्ने, मनमा एउटा छ, मुखले अर्को बोल्नुपर्ने, असाध्यै फर्मल हुनुपर्ने। फर्मल हुन नजानेर र अनुभवको कमीले पनि मलाई समस्या भयो। मुखमा आयो भने म बोलिहाल्छु।' तर, प्रचण्ड आजकल मनका कुरा रोक्ने प्रयासमा छन्। तर, फेरि पनि पत्रकारसित उनी खुलिहाल्छन्– 'तपाइँ मसित कुरा गर्दै जानोस्, सबै कुरा खुस्किइहाल्छन्।' प्रचण्डलाई यतिबेला विदेश भ्रमणका निम्ताहरु पनि धेरै आउने गरेका छन्। 'यूरोपियनहरुले पनि आउनुपर्यो , तपाइँहरुलाई स्वागत छ भनिरहेका छन्, दक्षिण कोरियाले पटक–पटक आऊ भन्यो, हामीले समय मिलाउन सकेनौं,' प्रचण्ड भन्छन्। तर, उत्तर कोरियाको कुरा अलि जटिल भएको उनी बताउँछन्। रसियाका लागि भने निम्तो मान्न जानै लागेका बेला संसद्को विशेष अधिवेशन परेकाले प्रचण्डले बीचैमा भिजिट क्यान्सिल गरेका हुन्। आफ्नो राजनीतिक एजेण्डा रेडिकल परिवर्तनको पक्षमा भएकाले केही मिडिया आफूप्रति पूर्वाग्रही बनेका हुन् कि भन्ने उनलाई परेको छ। समाजको अन्य क्षेत्रमा पनि मिडिया अलि अराजक हुन थालेको हो कि भन्ने पनि प्रचण्डलाई लागेको छ। तर, सम्पादकहरुसित बसेर यसलाई हल गर्ने वा भ्रम हटाउने योजना छ उनको। पत्रकार वीरेन्द्र साहको परिवारलाई छिट्टै राहत पुर्यााउने बचन दिन्छन् उनी। हत्याराहरु जनतान्त्रिकमा गए भन्ने उनको सुनाइ छ। 'मधेशमा त सजिलो छ नि, एकातिरबाट जोगिन अर्कातिर गइदियो। उनीहरु दुईजना जनतान्त्रिकमा पुगे भन्ने सुन्दैछु,'– प्रचण्ड भन्छन्।
No comments:
Post a Comment